पुनर्बीमा सम्बन्धी कानून छिट्टै ल्याउनुपर्छ । :- अध्यक्ष महेश कुमार गुरागाईं

October 24, 2019 10:29 am

पुनर्बीमा सम्बन्धी कानून छिट्टै ल्याउनुपर्छ

Oct 21, 2019

अन्तरवार्ता

 

महेश कुमार गुरागाईं, अध्यक्ष, नेपाल पुनर्बीमा कम्पनी

नेपाल पुनर्बीमा कम्पनी (नेपाल री) नेपालको एकमात्र पुनर्बीमा कम्पनी हो । २०७१ सालदेखि सञ्चालन भएको कम्पनीले हालसम्म ३२ मुलुकमा व्यवसाय विस्तार गरेको छ । नेपाल सरकारको प्रमुख शेयर रहेको यो कम्पनीले छोटो समयमै उल्लेख्य व्यवसाय र नाफा गर्दै आएको देखिन्छ । कम्पनीले रू. १ अर्ब ६० करोडको आईपीओ ल्याउने तयारी गरिरहेको छ । प्रस्तुत छ, कम्पनीका यिनै समसामयिक विषय, आगामी योजना लगायत विषयमा कम्पनीका अध्यक्ष महेश कुमार गुरागाईंसँग आर्थिक अभियानका मिलन विश्वकर्माले गरेको कुराकानी :

नेपाल पुनर्बीमा कम्पनीले स्थापनाकालदेखि हालसम्म के कस्ता उपलब्धि गर्न सक्यो ?
स्थापनाकालमा कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १० करोड मात्र थियो । पछि नेपाल सरकारसहित केही वित्तीय संस्था र बीमा कम्पनीहरूबाट शेयर थपेर कम्पनीको चुक्तापूँजी करीब रू. ५ अर्ब पुर्‍यायौं । हाल कम्पनीको चुक्तापूँजी रू. ८ अर्ब ४० करोड पुगेको छ । स्थापनाको छोटो समयमै चुक्तापूँजी बढाउनुलाई महत्त्वपूर्ण उपलब्धि ठानेका छौं । कम्पनीको आय पहिलेभन्दा ६ गुणा र नाफा ३ गुणा बढेको छ । यो पनि एउटा ठूलै उपलब्धि हो ।

पहिले यहाँका बीमा कम्पनीहरूले विदेशी कम्पनीमै पुनर्बीमा गर्नुपर्ने बाध्यता थियो, जसले गर्दा पुनर्बीमाको नाममा अर्बौं रकम बाहिर जाने गरेको थियो । त्यसलाई केही हदसम्म पनि कम गर्न सफल भएका छौं । साथै, नेपाल रीको उपस्थितिले नेपाली बजारको रिटेन्शन (धारण) क्षमता पनि बढेको छ । पहिले नेपालको बीमा बजारको जोखिम वहन गर्ने क्षमता २० प्रतिशत मात्र थियो । यहाँका कम्पनीले औसत २० प्रतिशत जोखिम आफूले राखेर बाँकीको पुनर्बीमा गर्ने गरेका थिए । त्यो अवस्थामा यहाँका कम्पनीहरू पुनर्बीमा कमिशनको आधारमा धानिनुपर्ने अवस्था थियो । तर अहिले नेपाली बीमा बजारको रिटेन्शन क्षमता ५५ प्रतिशतभन्दा बढी छ । त्यसमा नेपाल पुनर्बीमा कम्पनीले मात्र ३६ प्रतिशत जोखिम लिएको छ ।

शुरूका वर्षमा पुनर्बीमा व्यवसाय एकतर्फी रूपमा विदेश मात्र पठाउने काम भएको थियो । पुनर्बीमा कम्पनीले रेट्रोसेशन (पुनर्बीमाको पनि पुनर्बीमा) मार्फत वार्षिक १ अर्ब ६६ करोड बराबरको रकम बाहिर पठाइएको थियो । तर हामीले बाहिरको व्यवसाय लिन सकेका थिएनौं । अहिले भने बाहिरको पुनर्बीमा पनि नेपाल भित्र्याउन सफल भएका छौं । हाल हामीले पुनर्बीमा मार्फत विदेश पठाउने रकम र विदेशी कम्पनीको पुनर्बीमा गर्दा प्राप्त गर्ने बीमाशुल्क लगभग बराबर छ । अहिले भारतको कृषि बीमाको मात्र रू. १ अर्ब २८ करोडको व्यवसाय लिएका छौं । अन्य बीमाको पनि करीब रू. १ अर्बको व्यवसाय ल्याएका छौं । यसरी अहिले हाम्रो विदेशसँगको पुनर्बीमा व्यवसाय सन्तुलनमा छ ।

समग्रमा नेपाल पुनर्बीमा कम्पनी आइसकेपछि बीमा बजारको मनोबल बढेको छ । विदेशी बीमा कम्पनीहरू हामीसँग आएर अन्तरक्रिया गर्न थालेका छन्, जसले गर्दा हामीलाई बीमा सम्बन्धी अन्तरराष्ट्रिय अभ्यास बुझ्न र सिक्न सजिलो भएको छ । त्यसपछि हामीले उक्त ज्ञानलाई स्थानीय बजारमा पनि प्रदान गर्ने गरेका छौं । यसले गर्दा यहाँको बीमा बजारको पनि ज्ञान क्षमता बढेको पनि महशुस भएको छ ।

पुनर्बीमाको नाममा बाहिरिने रकम केही हदसम्म कम गर्न तपाईंहरू सफल हुनु भएको छ । तर त्यसले सम्भावित जोखिमहरू पनि नेपालमै रोकेको छ नि ?
जोखिम वहन गर्ने विषयमा हामी केही परम्परागत ढंगले अगाडि बढेका छौं । तर पनि यस विषयमा एकदमै सतर्कतापूर्वक काम गर्दै आएका छौं । रू. ४ करोडभन्दा बढीको जोखिम हामीले नेपाल बाहिरै पठाउने गरेका छौं । साना साना जोखिम बाहिर पठायौं भने बीमाशुल्क मार्फत धेरै पैसा बाहिर जान्छ । जोखिम व्यवस्थापनमा हाम्रो व्यावसायिक आकार, पूँजी, इक्विटी र अन्तरराष्ट्रिय मान्यताको आधारमा काम गर्दै आएका छौं । त्यसैले यसमा त्यति धेरै आत्तिनु पर्ने अवस्था छैन ।

पुनर्बीमा कम्पनीले रू. १ अर्ब ६० करोड बराबरको आईपीओ जारी गर्ने तयारी गरिरहेको छ । लगानीकर्ताले कम्पनीकोे आईपीओ किन्ने आधार के के छन् ?
विगत २ वर्षको तथ्यांक हेर्दा हामी लगानीकर्तालाई औसत १५ प्रतिशत बराबरको प्रतिफल दिन सफल छौं । अहिले बैंकमा निक्षेपको ब्याजदर पनि बढीमा १० प्रतिशतसम्म छ । यस्तो अवस्थामा लगानीकर्ताले १५ प्रतिशत प्रतिफल पाउनु सकारात्मक पक्ष हो । यो पनि शुरुआत मात्र हो । व्यवसाय शुरू गरेको ४ वर्षमा २ अर्बको चुक्तापूँजी अहिले ८ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । अन्य इक्विटी सहित हाम्रो अहिले १२ अर्ब रुपैयाँ पूँजी छ । चुक्तापूँजीको यो किसिमको वृद्धिले कम्पनीप्रति  लगानीकर्ता आकर्षित छन् । साथै हाम्रो व्यवसाय र नाफा पनि बढ्दै गएको छ । दक्षिण एशियामा नेपालको बीमा व्यवसाय सुरक्षित मानिन्छ । विभिन्न आधारमा नेपाल रीलाई पनि एउटा नाफायोग्य कम्पनीका रूपमा हेरिएको छ । त्यसैले आईपीओ विक्री हुुनेमा ढुक्क छौं ।

बाहिरी पुनर्बीमा कम्पनीले नेपालमा बढी जोखिम भएको कारण देखाउँदै नेपालका बीमा कम्पनीहरूको पुनर्बीमा गर्न नमानेको इतिहास छ । बीमा समितिको तथ्यांक अनुसार पनि नेपालसँगको कारोबारमा विदेशी पुनर्बीमा कम्पनीहरू फाइदामा छैनन् । यस अवस्थामा नेपाल रीको अवस्था कस्तो छ ?
अहिले नेपाल रीको व्यवसाय नाफामै छ । अहिले विश्वमा नाम चलेका स्वीस री, जनरल इस्योरेन्स कम्पनी अफ इन्डिया (जीआईसी) जस्ता ठूला पुनर्बीमा कम्पनीको व्यवसाय पनि शतप्रतिशतभन्दा बढी घाटामा छ । तर हाम्रो अहिले ८० प्रतिशत मात्र नोक्सानी छ, । यस आधारमा अहिले हाम्रो व्यवसायको २० प्रतिशत त नाफा नै छ ।

विगतमा विदेशी पुनर्बीमा कम्पनीले यहाँको व्यवसाय नलिनुको कारण नाफा÷घाटाको विषय थिएन । बीमा कम्पनीहरूमा विज्ञ कर्मचारीहरू पर्याप्त थिएनन् । त्यस्तो अवस्थामा दाबी सम्बन्धी सबै काम सर्भेयर र भ्यालुएटरसँग भर पर्नुपर्ने बाध्यता थियो । उनीहरूको काममाथि नै भर पर्नुपर्ने भएकाले कहिलेकाहीँ उनीहरूको दाबीमा शंका हुने गर्थ्यो । यस्ता कारण पनि विदेशी पुनर्बीमा कम्पनी यहाँ आउन चाहेका होइनन् ।

यसैगरी सहज रूपमा सूचना पाउन नसक्ने, तथ्यांकहरू पर्याप्त नहुने जस्ता कारणले विदेशी कम्पनीहरू यहाँ पुनर्बीमा व्यवसाय गर्न नमानेका हुन् । भुक्तानी प्रक्रिया झन्झटिलो हुँदा पनि यसमा असर पुगेको हुन सक्छ ।

पहिले सिंगापुर, जापान, यूरोपका पुनर्बीमा कम्पनीहरू व्यवसाय लिन नेपालमा आएका हुन् । तर नेपाली बीमा बजारले उनीहरूले खोजे अनुसारको सूचना र तथ्यांक दिन सकेन । त्यसरी उनीहरूले आवश्यक सूचना र तथ्यांक पूर्णरूपमा पाउन नसकेपछि फर्किएका हुन्, व्यवसाय लिन नचाहेको भने होइन । तर अहिले त्यस्तो अवस्था छैन । नेपालको पुनर्बीमा व्यवसाय पनि नाफामा छ । तथ्यांक संकलनका लागि बीमा समितिले आवश्यक संरचना बनाइदिएको छ । यसबाट विदेशी पुनर्बीमा कम्पनीहरूले नेपालका तथ्यांकहरू एउटै विन्डोमा हेरेर यहाँको व्यवसाय, बचत, जोखिम अनुपात के कति छ भन्ने विषयमा जानकारी पाउन सक्छन् । यद्यपि अझै पनि बीमाक्षेत्रमा सुधार गर्नुपर्ने कुराहरू हुन सक्छन् । बजारलाई अन्तरराष्ट्रिय स्तरको बनाउन तथ्यांक संकलन गर्ने, सूचना दिने विषयमा सुधार गर्नैपर्छ ।

पुनर्बीमा कम्पनीको अहिलेसम्म कति देशमा व्यवसाय विस्तार भयो र कुन देशबाट बढी दाबी आउने गरेको छ ? 
पुनर्बीमामा ‘ट्रिटी’ र ‘प्mयाकल्टेटिभ’ गरेर दुई प्रकारको व्यवसाय हुन्छ । अहिले हामीले भारत, बंगलादेश, केन्या, फिलिपिन्स, भियतनाम, भुटान लगायत १२ मुलुकसँग ट्रिटी व्यवसाय गरेका छौं । योबाहेक २० मुलुकमा फ्याकल्टेटिभ व्यवसाय विस्तार गरेका छौं । पहिले हामीले योभन्दा पनि बढी देशमा व्यवसाय बढाएका थियौं । तर केही देशमा उच्च जोखिम देखिएपछि त्यहाँको व्यवसायलाई निरन्तरता दिएनौं । त्यसको विश्लेषण गरिरहेका छौं । सबै विषयमा अध्ययन भएपछि यसबारे निष्कर्षमा पुग्छौं । हामी व्यवसाय विस्तारका लागि यी सबै देशमा पुगेका भने छैनौं । पुनर्बीमा ब्रोकर मार्फत सम्बन्धित देशमा व्यवसाय पुर्‍याएका हौं ।

दाबीको विषयमा भन्नुपर्दा जनघनत्व र व्यवसाय बढी भएको हुनाले भारतबाट बढी आउने गरेको छ । यसबाहेक अन्य मुलुकसँगको व्यवसाय त्यस्तो जोखिममा छैन । औसतमा सबै मुलुकसँगको व्यवसाय नाफामै छ । व्यवसाय गर्ने क्रममा देशगत रूपमा कहिलेकाहीँ दाबी आउनुलाई स्वाभाविक रूपमा लिएका छौं ।

विदेशी बीमा कम्पनीहरू तपाईंहरूको कम्पनीमा पुनर्बीमा गर्न कत्तिको इच्छुक छन् ? 
विदेशका बीमा कम्पनीहरू नेपाल रीमा पुनर्बीमा गर्न एकदमै इच्छुक देखिएका छन् । हामीले कम्पनीको अन्तरराष्ट्रिय रेटिङ गरायौं भने व्यवसाय उत्साहजनक ढंगले बढ्छ । अहिले नेपालकै रेटिङ हुन लागेकाले कम्पनीको अन्तरराष्ट्रिय रेटिङ गराउने कार्य थाती राखेका छौं । यद्यपि त्यसका लागि सूचना निकाल्ने प्रक्रियामा भने छौं । तर यो खर्चिलो हुन्छ । यसमा रू. १ करोड खर्च गरियो भने रू. १ अर्ब कमाउन सकिन्छ । किनभने ‘ए ग्रेड’को भन्दा माथिको रेटिङ ल्याउन सकियो भने हामीलाई अन्तरराष्ट्रिय बजारले नै खोजेर व्यवसाय दिन सक्छ । त्यो अवस्थामा हामी वार्षिक १०० अर्ब रुपैयाँसम्मको प्रिमियम विदेशबाटै लिन सक्छौं ।

३२ मुलुकमा व्यवसाय विस्तार गर्नुभएको छ । अन्तरराष्ट्रिय बजारमा कम्पनीको छवि कस्तो छ ?
अहिले अन्तरराष्ट्रिय बजारमा कम्पनीको राम्रो प्रभाव देखिन्छ । तर अन्तरराष्ट्रिय बजारले कम्पनीको रेटिङ गर्ने सुझाव दिँदै आएको छ । रेटिङ गराएर ए ग्रेड पाउन सक्यौं भने ५ वर्षमा हामी खर्बको व्यवसाय गर्न सक्छौं ।

अन्तरराष्ट्रिय बजारमा दक्षिण एशियाको उत्कृष्ट पुनर्बीमा कम्पनी जनरल इस्योरेन्स अफ इन्डिया (जीआईसी)ले हामीलाई राम्रो प्रतिस्पर्धीको रूपमा लिएको छ । सरकारी कम्पनी भएर पनि हामीले हरेक काम समयमा गरिरहेका छौं । कर्मचारीलाई अन्तरराष्ट्रिय स्तरको तालीम दिँदै आएका छौं । व्यवसाय आयो भन्दैमा बढी जोखिम हुने ठाउँमा हात हालेका छैनौं ।

व्यवसाय विस्तारका लागि विदेशमा कम्पनीको शाखा स्थापना गर्ने योजना पनि छ ?
संसारमा ठूला बजारमा पुनर्बीमा कम्पनीको शाखा खोल्ने अभ्यास छ । विश्वका धेरै पुनर्बीमा कम्पनीले बेलायत जस्ता उच्च व्यावसायिक सम्भावना भएका ठाउँमा शाखा स्थापना गरेका छन् । साथै भारत, सिंगापुर, म्यान्मामा पनि पुनर्बीमा कम्पनीले शाखा खोलेका छन् । हामीले पनि विदेशमा शाखा खोल्ने योजना साधारणसभाबाट पास गरेर राखेका छौं । अर्थ मन्त्रालयबाट आवश्यक प्रक्रिया पुर्‍याएर विदेशमा शाखा खोल्न सक्छौं । तर त्यसका लागि पर्याप्त पूँजी हुनुपर्छ । आवश्यक पूर्वाधार पूरा गर्न सकियो भने विदेशमा शाखा खोल्न सक्छौं र खोल्नु पनि पर्छ । वर्षमा रू. १ करोड खर्च गरेर सिंगापुरमा कार्यालय चलाउन सकियो भने त्यहाँबाट वार्षिक १ अर्ब प्रिमियम भित्र्याउन सक्छौं । त्यसको २० प्रतिशत मात्र नाफा कमाउन सकियो भने पनि ठूलो विदेशी मुद्रा आर्जन हुन्छ । यसले मुलुकको शोधनान्तर स्थितिमा सकारात्मक प्रभाव पार्छ । त्यसैले निकट भविष्यमा विदेशमा कम्पनीको शाखा खोल्न सक्छौं ।

निकट भविष्यमा ठूला भूकम्प तथा अन्य कुनै विनाशकारी प्रकोप आउँदा यहाँका बीमा कम्पनी मार्फत आउने दाबी नेपाल रीले थेग्न सक्छ कि सक्दैन ?
नेपालका बीमा कम्पनीहरूले न्यूनतम २० प्रतिशत जोखिम हामीलाई दिने गरेका छन् । त्यो अवस्थामा हामीले लिएको प्रतिशतको आधारमा प्रत्यक्ष २० प्रतिशत बराबरको दाबी त पर्छ नै । तर हामी इक्विटी र अन्तरराष्ट्रिय अभ्यास अनुसार साना जोखिम मात्र आफूले लिएर बाँकी रेट्रोसेशन मार्फत अन्य कम्पनीमा पठाउँछौं । हामीले रू. ४ करोडसम्मको जोखिम मात्र लिने गरेका छौं । यसभन्दा बढीको दाबी आएमा स्वतः विदेश पठाउँछौं । यसरी आगामी दिनमा महाविपत्तिले ठूलो क्षति भए पनि हामी दाबी भुक्तानी गर्न सक्छौं ।

अहिले केही जीवन बीमा कम्पनीले १०० प्रतिशतको अनुपातमा नेपाल रीमा पुनर्बीमा गरेका छन् । यसैगरी निर्जीवन बीमा कम्पनीको पनि शतप्रतिशत अनुपातमा पुनर्बीमा गर्न सम्भव छ ?
निर्जीवन बीमा कम्पनीको पनि शतप्रतिशतको अनुपातमा पुनर्बीमा गर्न सकिन्छ, नसकिने भन्ने छैन । हामीले कृषि, हुलदंगा जस्ता बीमाको शतप्रतिशत पुनर्बीमा लिएका छौं । तर सबै जोखिमलाई एकै ठाउँमा राख्नु राम्रो हुँदैन । ३० देखि ४० प्रतिशतसम्म जोखिम एउटै ठाउँमा राख्ने अन्तरराष्ट्रिय अभ्यास छ । हामीलाई बीमा समितिले पनि ३० प्रतिशतभन्दा बढी जोखिम नलिनु भनेको छ । हामीले पनि त्यही अनुसार व्यवसाय गर्दै आएका छौं ।

नेपालको बीमाक्षेत्रमै अहिले दक्ष जनशक्तिको अभाव देखिन्छ । पुनर्बीमामा यो समस्या झनै बढी छ । यस्तो अवस्थामा जनशक्तिको कसरी व्यवस्थापन गर्नु भएको छ ?
सर्वप्रथम सरकार र बीमा समितिले कुन कुन क्षेत्रमा जनशक्ति अभाव छ भनेर छुट्ट्याउनुपर्छ । अहिले सर्भेयरले गरेको कामलाई हेर्न सक्ने जनशक्ति हामीसँग छैन । यस्तै अन्डर राइटिङ जोखिम निर्धारण गर्ने, डेटाहरू खेलाउन सक्ने खालका जनशक्ति पनि पर्याप्त छैनन् । दाबी मूल्यांकनका लागि पनि दक्ष जनशक्तिको अभाव नै छ । यस्ता समस्या हुँदाहुँदै पनि विदेशीहरूसँग परामर्श गरेर कम्पनीलाई व्यवस्थित रूपमा अगाडि बढाइरहेका छौं । यस्ता जनशक्ति तयार गर्न सक्यौं भने दक्षिण एशियाकै यो माग पूर्ति गर्न सक्ने थियौं । यसका लागि सरकार र बीमा समिति अग्रसर हुनुपर्छ ।

बीमा समितिले बीमा इन्स्टिच्युट स्थापना गरेर तालीम दिँदै आएको त छ । तर त्यहाँ नेपालीले प्रशिक्षण दिएर दक्ष जनशक्ति उत्पादन हुने देखिँदैन । आधारभूत विषयका लागि त्यो राम्रो छ । प्राविधिक र विशिष्टीकृत विषयका लागि छुट्टै संरचना खडा गर्नुपर्छ ।

नेपाल पुनर्बीमा कम्पनीलाई अझै बलियो र प्रभावकारी ढंगले अगाडि बढाउन नेपाल सरकार र नियामक निकाय बीमा समितिले कस्तो सहयोग गर्नुपर्ला ?
पुनर्बीमा कम्पनी सञ्चालनमा आएको ४ वर्षभन्दा बढी भइसक्यो । तर यस सम्बन्धमा अझै पनि आवश्यक कानून छैन । त्यसैले पुनर्बीमा सम्बन्धी कानून छिट्टै ल्याउनुपर्छ । साथै दक्ष जनशक्तिको पूर्ति गर्ने विषयमा पनि उनीहरूको सहयोग हुनुपर्छ । दक्ष जनशक्ति पूर्ति गर्न सकियो भने कम्पनी अहिलेको भन्दा ४ गुणाभन्दा बढी नाफा कमाउन र व्यवसाय बढाउन समेत सक्छ । त्यसैले सम्बन्धित निकायले यसमा ध्यान दिनु जरुरी छ ।

यसका अलावा विदेशमा बसेर पुनर्बीमा ब्रोकरलाई नेपालमा पनि दर्ता हुन पाउने कानूनी व्यवस्था ल्याउन आवश्यक छ । किनभने हामीले ब्रोकरकै विश्वास गरेर व्यवसाय गर्ने हो । उनीहरूलाई नेपाल सरकारको पनि नियमन भयो भने हाम्रो व्यवसायमा बढी जोखिम हुने थिएन । त्यसैले बीमा समितिले पुनर्बीमा ब्रोकरको लाइसेन्स दिने व्यवस्था गर्नुपर्छ । साथै नेपालमा पुनर्बीमा ब्रोकर कम्पनीको व्यावसायिक सम्भावना पनि छ । उनीहरूले विदेशमा गएर व्यवसाय लिन पनि सक्छन्, जसको फाइदा नेपालको अर्थतन्त्रलाई नै हुने हो ।

पुनर्बीमा कम्पनीका लागि आगामी चुनौतीहरू के के छन् ?
हामीले छिट्टै १ अर्ब ६० करोड बराबरको आईपीओ ल्याउन लागेका छौं । त्यसलाई शतप्रतिशत मात्रामा विक्री गर्नु नै मुख्य चुनौती हो । साथै अहिले हाम्रो ‘रेट अफ रिटर्न’ १५ प्रतिशत भन्दा माथि छ । त्यसलाई निरन्तरता दिन पनि चुनौती छ । प्राविधिक ‘गाइडलाइन’ बनाएर विश्व बजारलाई विश्वस्त बनाउनु पनि छ । विश्वबजारमा प्रचलनमा रहेका सप्mटवेयर लिएर प्रविधियुक्त काम गर्न पनि चुनौती नै छ । साथै पुनर्बीमाको व्यावसायिक क्षमता भएका आवश्यक जनशक्ति हामीकहाँ छैनन् । त्यसलाई पूर्ति गर्न भइरहेका जनशक्तिको क्षमता अभिवृद्धि गर्ने र विदेशमा भएका जनशक्तिलाई नेपाल ल्याउने विषयमा समेत उत्तिकै चुनौती छ । यहाँका कम्पनीहरूले समयमै पुनर्बीमा बीमाशुल्क तिरेका छैनन् । त्यस्तो शुल्क समयमै उठाउनुपर्ने हाम्रो चुनौती छ । यो अवस्था आउन नदिन नियामक निकायले नै दबाब दिनुपर्छ । साथै तथ्यांकहरू विश्वसनीय बनाएर विश्वमा बीमा बजारको विश्वसनीयता बढाउनु पनि अहिलेको मुख्य चुनौती हो ।

 

original  :

source: Arthik Abhiyan

published date :- Oct 21, 2019